
अछामको पर्यटकीय तथा सांस्कृतिक पहिचान बोकेको रामारोशन क्षेत्रको रैथाने मदिराले अब औपचारिक रूपमा नयाँ परिचय पाउने भएको छ। स्थानीय मौलिक स्वादलाई संरक्षण गर्दै व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले यसलाई ‘कालापानी सोमरस’ ब्राण्डका रूपमा बजारमा ल्याउने नीति अघि सारेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा समेटिएको यो योजना गाउँसभाबाट बुधबार पारित भएको हो। अब रामारोशन क्षेत्रमा उत्पादन हुने परम्परागत मदिरालाई कानुनी प्रक्रिया पूरा गरी दर्ता, गुणस्तर परीक्षण तथा आकर्षक प्याकेजिङ्गसहित बजारमा उपलब्ध गराइनेछ।
स्थानीय सहकारी संस्था र उद्यमी समूहको सहकार्यमा उत्पादन हुने ‘कालापानी सोमरस’ लाई पर्यटनसँग जोडेर क्षेत्रीय आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाको विश्वास अनुसार यस योजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि र रैथाने उत्पादनको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।


स्थानीय संस्कृति र परम्पराको स्वाद बोकेको यो ब्राण्ड आगामी दिनमा पर्यटकका लागि विशेष आकर्षण र रामारोशनको छुट्टै पहिचानका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

































