
बिहीबार देवगुरु बृहस्पति र भगवान श्रीहरि विष्णुको पूजा गरिने दिन मानिन्छ। यस दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। साथै, भगवान विष्णुकी पत्नी देवी लक्ष्मीको समेत विशेष पूजा गरिन्छ। शुक्लपक्षको पहिलो बिहीबारबाट यो व्रत सुरु हुने परम्परा छ र अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ।

पूजाविधिअनुसार बिहान स्नान गरी शुद्ध भएर पहेँलो वस्त्र धारण गर्नुपर्छ। पहेँलो फूल र चन्दन मिसाएर बनाइएको प्रसाद भगवानलाई अर्पण गरिन्छ। त्यसपछि ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्ने परम्परा छ।

यो व्रत कम्तीमा ७ महिना वा १३ महिनासम्म गर्ने मान्यता रहेको छ। यसले जीवनमा सुख, समृद्धि र भगवान विष्णुको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

































