
इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। यो जितसँगै राजस्थान फाइनल नजिक पुगेको छ भने अब उसले गुजरात टाइटन्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेलको विजेता टोलीले फाइनलमा आरसिबीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

पहिलो इनिङ्समा राजस्थानले आक्रामक सुरुवात गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको विशाल योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ ओभर २ बलमा १९६ रनमै अलआउट भयो।

राजस्थानका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले २९ बलमा ९७ रनको विस्फोटक पारी खेले। उनले १२ छक्का प्रहार गर्दै क्रिस गेलको १४ वर्ष पुरानो एकै सिजनमा सर्वाधिक छक्का (६५) को कीर्तिमान समेत तोडे। सूर्यवंशीको आक्रामक ब्याटिङले खेलको दिशा नै परिवर्तन गरेको थियो।

































