
रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनमा शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको छ। यो कदमसँगै तेहरानमाथिको आर्थिक दबाब थप कडा बनेको वासिङ्टनले जनाएको छ।


अमेरिकी अर्थ मन्त्रालयले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध घोषणा गर्दै उक्त निकायले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्गमा पर्ने हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने प्रणाली सञ्चालन गरिरहेको आरोप लगाएको छ। अमेरिकाले यसलाई इरानको सैन्य र आर्थिक संरचनालाई सहयोग पुर्याउने गतिविधि भएको दाबी गरेको छ।
अर्थमन्त्री स्कट बेसेन्टले इरान लगातार आर्थिक संकटको दबाबमा रहेको उल्लेख गर्दै त्यही कारण वैकल्पिक राजस्व स्रोत खोजिरहेको बताएका छन्। उनले इरानलाई हतियार कार्यक्रम, क्षेत्रीय सशस्त्र समूह र आणविक महत्वाकांक्षाबाट वञ्चित गर्ने प्रयास जारी रहेको पनि बताए।
मन्त्रालयका अनुसार हर्मुज मार्ग प्रयोगकर्ताले तिर्ने शुल्क इरानको शक्तिशाली रिभोलुसनरी गार्ड्सलाई अप्रत्यक्ष सहयोगका रूपमा प्रयोग हुन सक्ने दाबी गरिएको छ। साथै, त्यस्ता भुक्तानीहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ।
यसैबीच, प्रतिबन्धित निकायले हर्मुज जलघाँटीको नियमन क्षेत्र देखाउने नक्सा सार्वजनिक गर्दै आफ्नो अधिकार क्षेत्र स्पष्ट पारेको थियो। इरानले भने यो मार्गमा लिइने शुल्कलाई ‘नेभिगेसनल सेवा’ को कानुनी भुक्तानी भएको दाबी गरेको छ।
विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास पारगमन हुने यस मार्गलाई लिएर अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। कूटनीतिक प्रयास कमजोर भइरहेका बेला यो विवादले क्षेत्रीय अस्थिरता थप बढाएको विश्लेषण गरिएको छ।
































