
बेलायतको गुप्तचर संस्था जीसीएचक्यूले युक्रेनमाथि सन् २०२२ मा पूर्ण आक्रमण सुरु भएयता करिब पाँच लाख रुसी सैनिक मारिएको दाबी गरेको छ। जीसीएचक्यूकी निर्देशक एनी किस्ट–बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा यो तथ्याङ्क सार्वजनिक गर्दै रुस–युक्रेन युद्धलाई विश्व सुरक्षाका लागि गम्भीर मोडको रूपमा वर्णन गरिन्।

उनका अनुसार रुसले बेलायत र नेटो राष्ट्रहरूका ‘अत्यावश्यक पूर्वाधार’, लोकतान्त्रिक प्रक्रिया र आपूर्ति शृङ्खलामाथि निरन्तर हाइब्रिड युद्ध सञ्चालन गरिरहेको छ। उनले बेलायती भूमिमा जासुसी प्रयास र साइबर आक्रमण बढेको चेतावनी दिँदै सुरक्षा चुनौती अझ जटिल बन्दै गएको बताइन्।
बीबीसी र स्वतन्त्र अनुसन्धान समूहका अनुसार हालसम्म करिब २ लाख २३ हजारभन्दा बढी रुसी सैनिकको मृत्यु पुष्टि भएको छ, यद्यपि वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान छ। युक्रेनले पनि ५५ हजार सैनिक गुमाएको जनाएको छ।


किस्ट–बटलरले रुससँगै चीन पनि विज्ञान, प्रविधि, अन्तरिक्ष र साइबर क्षेत्रमा तीव्र रूपमा अघि बढिरहेको बताइन्। उनले एआईको तीव्र विकाससँगै साइबर सुरक्षा अब राष्ट्रिय मात्र होइन, आर्थिक अस्तित्वको प्रश्न बनेको उल्लेख गरिन्।
उनले पश्चिमी राष्ट्रहरूलाई युक्रेन समर्थनमा एकताबद्ध रहन आग्रह गर्दै पुटिन युद्धमैदानमा कमजोर बन्दै गएको दाबी गरिन्। साथै, जीसीएचक्यूले साइबर आक्रमण, जासुसी र ‘गैरजिम्मेवार विध्वंस’ विरुद्ध निरन्तर प्रतिकार गरिरहेको बताइन्।
जीसीएचक्यूलाई बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय मानिन्छ, जसले राष्ट्रिय सुरक्षा र साइबर गुप्तचर क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
































