
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला महाकाली टोलका ५० वर्षीय जीतराम पार्की विगत २५ वर्षदेखि महाकाली नदीको बगरमा गिट्टी–बालुवा चाल्ने काम गर्दै आएका छन्। बिहान कुटो–कोदालो बोकेर बगर पुग्ने र साँझ मात्रै घर फर्किने उनको दैनिकी बनेको छ। श्रीमती तारासँगै उनी प्रचण्ड गर्मीमा पनि निरन्तर श्रम गरिरहेका छन्।

पश्चिम तराईमा यतिबेला तापक्रम ४०/४१ डिग्रीसम्म पुगेको छ। महाकालीको तातो बगरमा हिँड्नै मुस्किल भए पनि सयौं मजदुर जीविकोपार्जनका लागि काममा व्यस्त छन्। “गर्मी त अति नै छ, तर काम नगरे खान–लाउन समस्या हुन्छ,” पार्कीले भने। दुई जनाले दुई दिनमा एक ट्रली बालुवा चाल्दा करिब १ हजार ७ सय रुपैयाँ आम्दानी हुन्छ।

चार वर्षदेखि बगरमा मजदुरी गरिरहेकी द्रौपती सार्की पनि अनुहार कपडाले बेरेर काम गर्नुपर्ने बताउँछिन्। ऋण, घरखर्च र परिवारको जिम्मेवारीले उनीहरूलाई चर्को गर्मीमा समेत श्रम गर्न बाध्य बनाएको छ। वृद्धदेखि युवासम्म अहिले महाकालीको बगरमा पसिना बगाइरहेका छन्।

































