कृष्णपुरमा वैदिक संस्कार संरक्षण अभियान: जनै र कर्मकाण्ड तालिमबाट नयाँ पुस्ता जागरुक गराईदै

Image
Nisarga Hospital

आधुनिक जीवनशैलीको तीव्र प्रभावसँगै समाजमा मौलिक संस्कार, वैदिक परम्परा र धार्मिक अभ्यासहरू क्रमशः ओझेलमा पर्न थालेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष अभियान सुरु गरेको छ। धार्मिक र सांस्कृतिक पहिचान कमजोर हुँदै गएको चिन्ता बढ्दै जाँदा नगरपालिकाले परम्परागत ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरेको हो।

CP Hospital Dhangadhi

नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्र ग्वासी समैजीधाम परिसरमा एक सातासम्म जनै बनाउने तथा आधारभूत कर्मकाण्डसम्बन्धी छुट्टाछुट्टै तालिम सञ्चालन गरेको छ। उक्त तालिममा महिला तथा पुरुष दुवैको सक्रिय सहभागिता रहेको नगरप्रमुख हेमराज ओझाले जानकारी दिए। उनका अनुसार धार्मिक महत्व बोकेको यस स्थलमा सञ्चालन गरिएको कार्यक्रमले वैदिक संस्कार संरक्षण, धार्मिक चेतना अभिवृद्धि तथा लोपोन्मुख सीप हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नगरप्रमुख ओझाले जनैलाई केवल धागो नभई अनुशासन, शुद्धता, जिम्मेवारी र आध्यात्मिक चेतनाको प्रतीकका रूपमा व्याख्या गर्दै वैदिक परम्पराअनुसार यसको धारण आत्मसंयम र नैतिक मूल्यसँग जोडिएको बताए। समाजमा जनैको धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी घट्दै गएको अवस्थामा यस्ता तालिमले व्यवहारिक ज्ञान प्रदान गर्दै मौलिक परम्पराको संरक्षणमा मद्दत गर्ने उनले उल्लेख गरे।

nawajiwan
Attariya Hospital

त्यसैगरी, कर्मकाण्डलाई नेपाली समाजको जन्मदेखि मृत्यु संस्कारसम्म प्रत्यक्ष जोडिएको वैदिक अभ्यासका रूपमा व्याख्या गर्दै नगरप्रमुख ओझाले संस्कृत भाषा, मन्त्र उच्चारण र धार्मिक विधिप्रतिको रुचि घट्दै गएको चिन्ता व्यक्त गरे। अनुभवी पण्डितलाई प्रशिक्षकका रूपमा परिचालन गरी सहभागीलाई पूजा विधि, वैदिक मन्त्र र आधारभूत धार्मिक ज्ञान प्रदान गरिएको उनले बताए।

नगरपालिकाले ग्वासी समैजीधाममा यस्ता गतिविधि सञ्चालन गर्दा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। जनै निर्माण तथा कर्मकाण्ड तालिमबाट ४० भन्दा बढी सहभागी लाभान्वित भएका छन्। यस अभियानले स्थानीय स्तरमै संस्कार संरक्षण र धार्मिक चेतना सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।