
सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ। शनिबार परिषद्का अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले योजनालाई अन्तिम रूप दिँदै मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो।

प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको यो योजना आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म कार्यान्वयन हुने गरी निर्माण गरिएको हो। योजनाको तयारीका क्रममा पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, नेपालको सोह्रौँ योजना, संविधान, ऐन–नियम, आर्थिक सर्वेक्षण तथा सरोकारवालासँगको व्यापक छलफलबाट प्राप्त सुझावलाई समेटिएको आयोगका सदस्य नृपबहादुर सुनारले जानकारी दिए।
योजनाले ‘समुन्नत सुन्दर सुदूरपश्चिम’ लाई दीर्घकालीन सोचका रूपमा अघि सारेको छ। साथै, प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित गर्नु प्रमुख लक्ष्य रहेको बताइएको छ।


योजनामा उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ। कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई मुख्य आर्थिक आधार बनाउँदै दिगो आर्थिक वृद्धि हासिल गर्ने रणनीति पनि समेटिएको छ।
यसैगरी यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विस्तारसँगै सामाजिक सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई पनि उच्च प्राथमिकता दिइएको छ।
डा. जीवन रानाका अनुसार यो योजना दिगो विकास, सुशासन, डिजिटल रूपान्तरण र समावेशी आर्थिक विकासतर्फ प्रदेशलाई अघि बढाउने मार्गनिर्देशक दस्तावेज हुनेछ। पहिलो योजनाका उपलब्धि र चुनौतीका आधारमा दोस्रो आवधिक योजना तयार गरिएको उनले बताइन्। अब मस्यौदा प्रदेश मन्त्रिपरिषद्मा पेस भएपछि थप प्रक्रिया अघि बढाइने छ।
































