
डडेल्धुरामा सम्पन्न १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबार भव्य रूपमा सम्पन्न भएको हो।
अन्तिम पदक तालिकाअनुसार कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जित्दै पहिलो स्थान हासिल गर्यो। कञ्चनपुरले १७ स्वर्ण, १३ रजत र १३ कास्यसहित कुल ४३ पदक जितेर दोस्रो स्थान बनायो भने डडेल्धुराले ६ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३० पदक जित्दै तेस्रो स्थान प्राप्त गर्यो।
बैतडीले ६ स्वर्ण, ७ रजत र १३ कास्यसहित २६ पदक जितेर चौथो स्थानमा रह्यो। त्यस्तै दार्चुला, बझाङ, बाजुरा, डोटी र अछाम क्रमशः पाँचौँदेखि नवौँ स्थानमा रहे। दार्चुलाले ३ स्वर्ण र बझाङले २ स्वर्ण जित्दा बाजुरा, डोटी र अछाम भने स्वर्णविहीन बने।
प्रतियोगिताभर कुल ६६ स्वर्ण, ६६ रजत र १०० कास्यसहित २३२ पदक वितरण गरिएको आयोजकले जनाएको छ।
समापन समारोहमा प्रमुख अतिथि सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुरामा पहिलोपटक प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना हुन सफल भएकोमा खुशी व्यक्त गरिन्। उनले सुदूरपश्चिमका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गरेको उल्लेख गर्दै खेलाडीको मेहनतको प्रशंसा गरिन्।
राज्यमन्त्री खड्काले खेलाडीलाई आवश्यक सेवा–सुविधा अझै पर्याप्त रूपमा उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै संघ, प्रदेश र स्थानीय तहले खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी परिषद्का सदस्य–सचिव लोकबहादुर खड्का (रवि)ले डडेल्धुरामा दर्शकको उल्लेखनीय सहभागिताले उत्साह थपेको बताए। उनले पहाडी जिल्लामा देखिएको जनसहभागिताका कारण आगामी दिनमा यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।
प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो भने यसले उदीयमान खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।



































