
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का कृषकहरूलाई उन्नत जातको आलुको बीउसँगै कृषि यान्त्रिकीकरण सामग्री हस्तान्तरण गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत स्थानीय तह विशेष पकेट क्षेत्र विस्तार (आलु) कार्यक्रममार्फत सामग्री वितरण गरिएको हो।

आलु खेतीलाई व्यावसायिक, आधुनिक र उत्पादनमुखी बनाउने उद्देश्यले कृषि ज्ञान केन्द्र र सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो।
सहकारी संस्थाका कार्यालय प्रमुख सरद पाण्डेयका अनुसार कृषकहरूलाई उन्नत बीउका साथै १४ थान सिँचाइ सेट, ५ थान पावर टिलर, ४ थान मिनी टिलर, ३ थान रोटाभेटर र २५ थान स्प्रे ट्याङ्की वितरण गरिएको छ।
वितरित सामग्रीले खेतीको लागत घटाउने, श्रम बचत गर्ने र उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





























