
अत्तरियाः गोदावरी नगरपालिका–३ चौकीडाँडामा सक्रिय युवा समूह मालाखेती युथ ले जन्मदिनलाई समाजसेवासँग जोड्दै छाडा चौपाया व्यवस्थापन अभियान सुरु गरेको छ। समूहका सदस्य विष्णुको जन्मदिनको अवसरमा भोजभतेर र मनोरञ्जनमा खर्च हुने रकमलाई सामाजिक कार्यमा प्रयोग गर्दै छाडा चौपायाको घाँटीमा लाइटिङ बेल बाँध्ने अभियान थालिएको हो।

सडक तथा सार्वजनिक स्थानमा विचरण गर्ने गाईगोरुको घाँटीमा लाइटिङ बेल बाँधिएपछि रातिको समयमा उनीहरूको पहिचान गर्न सहज हुने र सवारी दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ। युवाहरूका अनुसार यो अभियानले छाडा चौपायाका कारण हुने सम्भावित दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।

मालाखेती युथले यसअघि पनि जनचेतनामूलक भिडियो निर्माण, सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश प्रवाह, सामाजिक विकृति–विसंगतिविरुद्ध सचेतना कार्यक्रम तथा समुदायमुखी रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। स्थानीयवासीका अनुसार समूहले सुरुदेखि नै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेको छ।

समूहका सदस्य विष्णुले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाजका लागि उपयोगी कार्यसँग जोड्ने सोचका साथ अभियान सुरु गरिएको बताए। उनका अनुसार यो अभियानको सुरुआत मात्र हो र आगामी दिनमा गोदावरी नगरपालिकाभर रहेका छाडा चौपायाको व्यवस्थापन तथा नियन्त्रणका लागि यसलाई थप विस्तार गरिनेछ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, वडा कार्यालय, नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था, गोदावरीबासी तथा देश–विदेशमा रहेका समाजसेवी युवाहरूको सहयोग र सहकार्य आवश्यक रहेको मालाखेती युथले जनाएको छ।
जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै युवाहरूले प्रस्तुत गरेको यो उदाहरणीय अभियानले युवा नेतृत्व, सामुदायिक सहकार्य र सकारात्मक सोचको सशक्त सन्देश दिएको छ। स्थानीयस्तरमा यसको व्यापक प्रशंसा भइरहेको छ।
































