
हिन्दू धर्मशास्त्रअनुसार मंगलबार भगवान श्रीगणेशको पूजा, अर्चना र व्रत गर्न विशेष फलदायी मानिन्छ। कुनै पनि शुभ कार्यको सुरुवात गणेश पूजाबाट गर्ने परम्परा रहेको छ, किनकि उनलाई विघ्नहर्ता तथा बुद्धि–ज्ञानका देवताको रूपमा पूजा गरिन्छ।

धार्मिक विश्वासअनुसार मंगलबार शुद्ध मनले गणेशको आराधना गर्दा सुख, शान्ति, समृद्धि र मनोकामना प्राप्त हुने विश्वास छ। शास्त्रमा उल्लेखित विधिअनुसार धूप, दीप, पुष्प, नैवेद्य, आरती लगायतका सामग्रीसहित श्रद्धापूर्वक पूजा गर्नुपर्छ।

यस दिन मासु, मदिरा, माछा तथा जीवजन्तुको हत्या गर्न नहुने मान्यता छ। यस्ता कार्यले नकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ। भगवान गणेशलाई सबैभन्दा प्रिय प्रसाद लड्डु मानिन्छ। पद्मपुराणमा वर्णित कथाअनुसार गणेशले सम्पूर्ण तीर्थयात्राभन्दा मातापिताको पूजा श्रेष्ठ ठहर गर्दै उनीहरूको परिक्रमा गरेका थिए। त्यसैको सम्मानस्वरूप माता पार्वतीले उनलाई दिव्य लड्डु प्रदान गरेकी थिइन्।

‘गणेश’ शब्दको अर्थ नै बुद्धि र ज्ञानको प्रतीक हो। ‘विघ्नेश्वर’ र ‘विनायक’ नामले समेत परिचित गणेशलाई सबै बाधा–अवरोध हटाउने देवता मानिन्छ। श्रद्धापूर्वक “ॐ गं गणपतये नमः” लगायतका मन्त्र जप गर्दा जीवनमा सफलता र शुभफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
































