
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध दलभित्रै अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गरिएको हो।

स्रोतका अनुसार शाहविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसका ९ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन्। सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका कुल १८ सांसद रहेका छन्। तीमध्ये सांसद प्रकाश देउवा हाल नेपाल बाहिर रहेकाले प्रस्तावमा सहभागी हुन सकेका छैनन्।

अविश्वास प्रस्ताव दर्तापछि कांग्रेसका बहुमत सांसदहरूको बैठक प्रदेश सभामा जारी रहेको बताइएको छ। दलभित्र नेतृत्व परिवर्तनको मागसँगै कांग्रेसको प्रदेश राजनीतिमा नयाँ समीकरणको चर्चा सुरु भएको छ।

यस घटनाक्रमले सुदूरपश्चिम प्रदेश सरकार र कांग्रेस संसदीय दलको नेतृत्वमा थप राजनीतिक तरंग पैदा गरेको छ। आगामी निर्णयले प्रदेशको सत्ता समीकरणमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
































