
अत्तरियाः कैलालीको गेटा आँखा अस्पतालमा कर्मचारीमाथि दबाब, अन्याय र असुरक्षित कार्य वातावरण सिर्जना गरिएको आरोप सार्वजनिक भएको छ। नेत्रज्योति संघ नेपालअन्तर्गत सञ्चालित यस अस्पतालमा कार्यरत कर्मचारीहरूले प्रशासनले योग्यताका आधारमा नियुक्त कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्न नदिई विभिन्न बहानामा स्पष्टीकरण सोध्ने, सरुवा गर्ने र जागिर खोस्ने धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्।

कर्मचारीहरूका अनुसार अस्पतालभित्र ‘आज्ञाकारीता’ लाई प्राथमिकता दिइएको छ भने असन्तुष्टि जनाउने वा प्रश्न उठाउनेलाई मानसिक दबाब दिने अभ्यास भइरहेको छ। यसले सेवा प्रवाहभन्दा पनि जागिर जोगाउने तनावपूर्ण वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ।
नेपाल सरकारले तोकेको मासिक ३ हजार रुपैयाँ महँगी भत्ता समेत लामो समयदेखि नपाइएको र माग गर्दा उल्टै अपमानजनक व्यवहार भएको आरोप कर्मचारीहरूले लगाएका छन्। उनीहरूले अस्पताल सेवामुखीभन्दा व्यापारिक सोचतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।


उक्त विषयमा मानव अधिकार आयोगमा उजुरी परेपछि आयोगले प्रारम्भिक अध्ययन गर्दै अस्पताल प्रशासनसँग स्पष्टीकरण मागेको छ।
तर अस्पतालका प्रमुख चिकित्सा निर्देशक सुरेशराज पन्तले सबै आरोप अस्वीकार गर्दै केही प्रशासनिक ढिलाइ भए पनि समस्या समाधान भइसकेको दाबी गरेका छन्। उनले नेत्रज्योति संघको निर्णयअनुसार काम हुने बताएका छन्। यस घटनाले गेटा आँखा अस्पतालको कार्य वातावरण र प्रशासनिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ।
































