
रमेश बहादुर सिंह/ बझाङः जयपृथ्वी नगरपालिका–७ सुवेडामा एकल महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको नेतृत्व विकास, उद्यमशीलता तथा अचार बनाउने सिपमूलक तालिम सम्पन्न भएको छ।

सामाजिक विकास कार्यालय बझाङ, चैनपुरको आयोजनामा सम्पन्न तालिमको उद्देश्य सहभागी एकल महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्नु रहेको थियो। तालिममा नेतृत्व विकास, उद्यम सञ्चालनका आधारभूत ज्ञान तथा स्थानीय स्रोत–साधनको उपयोग गरी अचार उत्पादन र बजारीकरण सम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो।


कार्यक्रममा सामाजिक विकास कार्यालय चैनपुर बझाङका प्रमुख प्रयागराज जोशीले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि यस्ता सिपमूलक तालिम प्रभावकारी हुने बताउँदै सिकेको ज्ञानलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
सहभागी महिलाहरूले तालिमबाट नयाँ ज्ञान र सीप प्राप्त भएको बताउँदै भविष्यमा आयआर्जनमूलक कार्यमा लाग्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।
कार्यालयका अनुसार महिलाको आर्थिक अवस्था सुधार, आत्मविश्वास वृद्धि र उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिनेछ।

































