
हिन्दु धर्मशास्त्रअनुसार हप्ताका प्रत्येक दिन कुनै न कुनै देवी–देवतासँग सम्बन्धित मानिन्छ। विशेष व्रत तथा उपवासबाहेक धेरै हिन्दू धर्मावलम्बीले आफ्नो आस्थाअनुसार कुनै एक दिन पूजा–आराधना र व्रत गर्ने परम्परा छ।


बुधबारलाई ‘बुध’ ग्रहको दिन मानिन्छ। यस दिन विशेष रूपमा भगवान कृष्ण को पूजा–आराधना गरिन्छ। तुलसीको पात चढाएर पूजा गर्नु शुभ मानिन्छ भने नयाँ कामको सुरुआतका लागि बुधबारलाई उत्तम दिनका रूपमा लिने गरिन्छ।
धार्मिक मान्यताअनुसार बुधबार व्रत बसेर कृष्ण भगवानको पूजा गरेमा मनोकामना पूरा हुने विश्वास छ। साथै यस दिन गरिने केही धार्मिक कार्यले दीर्घकालीन शुभ फल दिने जनविश्वास रहेको छ।
बुधबार गर्न शुभ मानिने कार्यहरू:
- गाईलाई हरियो घाँस खुवाउने।
- मुंगको दाल दान गर्ने।
- भगवान गणेश लाई सिन्दूर चढाउने।
- बुध ग्रहको दोष भएकाले गणेशलाई लड्डु चढाउने।
यी कार्यले सुख, शान्ति, समृद्धि तथा कष्ट निवारण हुने धार्मिक विश्वास रहेको छ।
































