डोटीको बोगटान फुड्सिलमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न, ३७ जनाको सफल शल्यक्रिया

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

सिलगढीः  डोटीको बोगटान फुड्सिल गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ । वडा नम्बर ७ चवराचौतारामा हिजोदेखि सुरु गरिएको शिविर आज सम्पन्न भएको हो । शिविरमार्फत स्थानीय नागरिकले आँखासम्बन्धी उपचार सेवा आफ्नै गाउँमै सहज रूपमा प्राप्त गर्न सकेका छन् ।

बोगटान फुड्सिल गाउँपालिका, डाक फाउन्डेसन र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग तथा धनगढी नेत्रालय प्रा.लि. र श्रीकृष्ण आँखा अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै आयोजना गरिएको यस शिविरले स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराएको हो ।

nawajiwan

गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाका अनुसार शिविरमा ३७ जनाको सफल आँखाको शल्यक्रिया गरिएको छ भने २२८ जनाले विभिन्न आँखा सम्बन्धी सेवा लिएका छन् । उनले पालिकाभरि आँखासम्बन्धी समस्या भएका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको जानकारी दिँदै यसले समुदायमा ठूलो राहत पुर्‍याएको बताए ।

Attariya Hospital

अध्यक्ष गड्सिलाले भने, “धनगढी जस्ता ठूला शहरमा गएर महँगो खर्च र समय खर्चिनुपर्ने बाध्यता हटेको छ । पालिकामै निःशुल्क शल्यक्रिया सेवा उपलब्ध भएपछि नागरिकलाई आर्थिक र समय दुवै हिसाबले ठूलो राहत मिलेको छ ।”

शिविरमा आएका सेवाग्राहीहरूले पनि स्थानीय तहमै विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । टाढा–टाढा जानुपर्ने, यातायात खर्च र उपचार खर्चको बोझ झेल्नुपर्ने अवस्थाबाट मुक्त भएको भन्दै उनीहरूले गाउँपालिकाको पहललाई सराहना गरेका छन् ।

दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित गरिएको यस्तो शिविरले स्थानीय स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । आयोजकहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।