पाँच वर्षसम्म अलपत्र सडकको ठेक्का रद्द, अत्तरिया–सहजपुर सडक निर्माणमा कडाइ

Image
Nisarga Hospital

महाकाली राजमार्गअन्तर्गत कैलालीको अत्तरियादेखि सहजपुरसम्मको ४२ किलोमिटर सडक मर्मत तथा स्तरोन्नति कार्यको ठेक्का अन्ततः रद्द गरिएको छ। २०७८ वैशाख २२ गते सम्झौता भई सोही वर्षभित्र सम्पन्न हुनुपर्ने योजना पाँच वर्ष बित्दासमेत पूरा नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो।

CP Hospital Dhangadhi

सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय तथा सडक डिभिजन महेन्द्रनगरले निर्माण व्यवसायी नागार्जुन कन्स्ट्रक्सन प्रालिसँग भएको सम्झौता रद्द गरेको जनाएको छ। उक्त कम्पनीसँग महाकाली राजमार्गको कैलाली खण्डमा पुनर्स्थापना, भिरालो सडक स्थिरीकरण तथा कालोपत्रे निर्माणका लागि सम्झौता भएको थियो।

कार्यालयका अनुसार निर्माण कम्पनीले करिब ३० प्रतिशत मात्र काम सम्पन्न गरेर सडक अलपत्र पारेको थियो। निर्माण कार्य समयमै सम्पन्न गर्न पटक–पटक लिखित तथा मौखिक ताकेता गरिए पनि कम्पनीले बेवास्ता गरेको जनाइएको छ। यसैक्रममा २०८२ चैत २३ गते गोरखापत्र दैनिकमार्फत स्पष्टीकरण माग गरिएको भए पनि कुनै जवाफ नआएपछि ठेक्का रद्द गर्ने निर्णय गरिएको हो।

nawajiwan
Attariya Hospital

सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताका प्रावधानअनुसार २०८३ जेठ १८ गतेको निर्णयबाट सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ। साथै, कार्यको मूल्याङ्कन गरी बाँकी दायित्व तथा क्षतिपूर्ति सरकारी बाँकीसरह असुलउपर गरिने कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ। निर्माण व्यवसायीलाई १५ दिनभित्र वित्तीय फरफारकका लागि सम्पर्क गर्न समेत निर्देशन दिइएको छ।