सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व: कुलपति नेपाल, उपकुलपतिमा दाहाल, सदस्य सचिवमा सुरत नियुक्त

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ। प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त भएका छन्। प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले नेपाललाई कुलपति पदमा नियुक्त गरेका हुन्।

CP Hospital Dhangadhi

यसैगरी उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल र सदस्य सचिवमा कैलालीका सुरत रावत नियुक्त भएका छन्। सदस्यका रूपमा डोटीकी कृष्णा सिराडी र बझाङका विष्णुभक्त खैर चयन भएका छन्।

प्रतिष्ठानमा यसअघि नै २२ जना प्रज्ञा सभा सदस्य नियुक्त भइसकेका छन्। नयाँ नियुक्तिसँगै प्रतिष्ठानको प्रशासनिक तथा प्राज्ञिक संरचना थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

यसअघि उपकुलपतिको मात्र राजनीतिक नियुक्ति हुँदै आएकोमा हाल ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएपछि कुलपति पद समेत औपचारिक रूपमा नियुक्त गरिएको हो। यसले प्रतिष्ठानलाई नीति निर्माण, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

नयाँ नेतृत्वले सुदूरपश्चिमको मौलिक संस्कृति, भाषा र साहित्यको संरक्षण तथा अनुसन्धानमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रदेश सरकारको संरक्षकत्वमा प्रतिष्ठानले आगामी दिनमा सांस्कृतिक अभियानलाई थप सुदृढ बनाउने बताइएको छ।

प्रतिष्ठानमार्फत सुदूरपश्चिमका लोकसंस्कृति, लोकसाहित्य, परम्परा र मौलिक पहिचानलाई दस्तावेजीकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ। स्थानीय सर्जक, लेखक र कलाकारलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूलाई पनि आगामी दिनमा प्राथमिकतामा राखिने जनाइएको छ।  यो निर्णयलाई सांस्कृतिक विकासमा महत्वपूर्ण उपलब्धि मानिएको छ र सकारात्मक मानिएको छ।