
अत्तरियाः नेत्रज्योति संघ नेपाल अन्तर्गत सञ्चालित कैलालीको गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिचको विवाद बुधबार प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र महतोको उपस्थितिमा भएको छलफलपछि तत्काललाई साम्य भएको।

अस्पताल प्रशासन र कर्मचारीबिचको छलफलमा मागहरू तत्काल र दीर्घकालीन गरी सम्बोधन गर्ने सहमति भएको जसअनुसार तलब वृद्धिको विषयमा एक महिनाभित्र निर्णय गर्ने सहमति भएको अस्पतालका प्रमुख चिकित्सा निर्देशक सुरेशराज पन्तले बताए।
उनले आइतबारको बिदा सम्बन्धी विषय व्यवस्थापन समितिमा लैजाने सहमति भएको बताए।

स्थायी र बढुवाको प्रक्रिया अघि बढिसकेको जनाउँदै प्रशासनबाट गर्नुपर्ने काम तत्काल गर्ने र बाँकी विषय एक हप्ताभित्र केन्द्रमा पठाइने सहमति भएको छ।
स्पष्टीकरण सम्बन्धी विवाद जहाँ जति थियो त्यही रोक्ने सहमति भएको बताइएको छ।

कर्मचारीले गत वर्ष नै वृद्धि गरिएको महँगी भत्ता पाउनुपर्ने, नेपाल सरकारले आइतबार दिने सार्वजनिक बिदा अस्पतालमा लागू गर्नुपर्ने तथा ओएनएम सर्वेक्षण गरी आवश्यक जनशक्ति दरबन्दी र सेवा सुविधा सुनिश्चित गर्नुपर्ने माग राखेका थिए।
उनीहरू आन्दोलनमा उत्रिएर जेठ ४ गते अस्पताल प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दी गरेका थिए। तालाबन्दीपछि प्रशासनले स्पष्टीकरण सोध्ने र दबाब दिएको आरोप लगाइएको थियो जसपछि स्थानीय समेत कर्मचारीको पक्षमा उत्रिए।
स्थानीयले छुट्टै संघर्ष समिति बनाएर ६ बुँदे माग अघि सारेका छन्। जसअन्तर्गत स्थानीय प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्ने उमेर हद नाघेका कर्मचारी राजीनामा दिनुपर्ने आजीवन सदस्यता खुला गर्नुपर्ने र व्यवस्थापन समिति पुनः गठन गर्नुपर्ने माग छन्।
साथै सदस्यता शुल्क घटाउने र चिकित्सक पदपूर्ति गर्नुपर्ने माग पनि राखिएको छ। स्थानीयका मुद्दा एक साता भित्र छलफल गर्ने सहमति गरिएको छ।
































