
सिंगापुरमा जारी एसियन गेम्स पुरुष छनोट २०२६ अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियासामु २ सय ७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन बनायो।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले विस्फोटक सुरुवात दिलाए। दुवैले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै पावरप्लेमा मात्रै ९५ रन जोडे, जुन नेपालले टी–२० अन्तर्राष्ट्रियमा पावरप्लेमा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो।
आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्काको मद्दतमा ६८ रन बनाए भने कुशल भुर्तेलले शानदार शतक प्रहार गर्दै ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रनको योगदान दिए। यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो।

यससँगै भुर्तेल नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन्। उनले ७८ खेलमै कप्तान दीपेन्द्र सिंह ऐरीको २,१८० रनको कीर्तिमान उछिनेका हुन्।

कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रनको आक्रामक इनिङ्स खेले भने लोकेश बमले १०, कुशल मल्लले ९ र करन केसीले ७ रन जोडे। सन्दीप जोराले १५ रन बनाए। रोहित पौडेल भने पहिलो बलमै आउट भए।
मलेसियाका लागि वीरनदीप सिंहले ३ विकेट लिए भने विजय उन्नी र सयेद अजिजले समान २–२ विकेट हात पारे।
यसअघि पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको थियो।
































