
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले कैलाली जिल्ला खेलकुद संघको सहयोगमा पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूलाई फूटबल वितरण गरेको छ।

खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

फूटबल वितरणको पहिलो चरणमा सरस्वती माध्यमिक विद्यालय (गेटा, वडा नं. ५), भागेश्वर आधारभूत विद्यालय (बिजौरा, वडा नं. १), शैलेश्वरी माध्यमिक विद्यालय (बहेडा, वडा नं. ६), घन्टेश्वर माध्यमिक विद्यालय (अत्तरिया, वडा नं. १) तथा जनज्योति माध्यमिक विद्यालय (मसलाखेती, वडा नं. ३) लाई फुटबल हस्तान्तरण गरिएको छ। बाँकी रहेका विद्यालयहरूमा पनि आगामी दिनमा क्रमशः फुटबल वितरण गरिनेछ।


कैलाली जिल्ला खेलकुद संघले विद्यालयमा प्रयोगका क्रममा फुटबल फुटे वा बिग्रिएमा त्यसको प्रतिस्थापन (Replacement) गरिदिने प्रतिबद्धता जनाएको छ।

फुटबल वितरण गर्दै नगर प्रमुख बिरेन्द्र भट्टले खेलकुद क्षेत्रको विकास र विद्यालयस्तरमा खेल गतिविधिको विस्तारप्रति पूर्ण प्रतिबद्ध छु। विद्यार्थीहरूलाई खेलमार्फत अनुशासित, स्वस्थ र सक्षम नागरिकका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस सहयोगका लागि कैलाली जिल्ला खेलकुद संघलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।



































