
अत्तरिया: संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई सुदृढ बनाउने उद्देश्यका साथ सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन सुरु हुँदैछ। जेठ २३ र २४ गते हुने सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा गर्ने कार्यक्रम छ।

उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले गर्नेछन् भने सभामुख अर्याल, अध्यक्ष दाहाल र मुख्यमन्त्री कमलबहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा संघीय संसदका पदाधिकारी, उपसभामुख रूबी कुमारी र राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधिहरू सहभागी भएका छन्।
बन्द सत्रमा संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया, डिजिटल संसद, बजेट निर्माण र संघ–प्रदेश–स्थानीय तहबीच समन्वयका विषयमा कार्यपत्र प्रस्तुत हुनेछन्। संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, सूचना प्रविधि विज्ञ विनित सत्याल, संविधानसभा सदस्य खिमलाल देवकोटा र पूर्वसचिव डा. सुरेन्द्र अर्यालले प्रस्तुति दिनेछन्।




सम्मेलनमा संघीयता कार्यान्वयन, संसदीय अभ्यास र समन्वयका असल अभ्यासबारे छलफल हुनेछ। अन्त्यमा ‘टीकापुर घोषणापत्र’ जारी गर्दै आगामी संसदीय सहकार्यको मार्गचित्र तय गरिनेछ।



































