
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले आफ्नो नयाँ आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै Durgalaxmi.edu.np नामक वेबसाइट औपचारिक रूपमा सार्वजनिक गरेको हो।

उक्त वेबसाइट विद्यालयमा कक्षा १२ अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषय अध्ययनरत ६ जना विद्यार्थीहरूले “पढ्दै–कमाउँदै” कार्यक्रममार्फत डिजाइन तथा विकास गरेका हुन्। विद्यार्थीहरूले आफ्नो सीप, प्रविधि ज्ञान र सिर्जनशीलता प्रयोग गर्दै वेबसाइट निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेका छन्।
वेबसाइट निर्माणमा कुशल थापा, ललित महर, छत्र बिक, वर्षा बोगटी, रावल सुनार र आशिष उपाध्याय संलग्न रहेका छन्। उनीहरूले विद्यालयलाई निःशुल्क रूपमा वेबसाइट हस्तान्तरण गरेका हुन्।


विद्यार्थीहरूले भविष्यमा वेबसाइटसम्बन्धी सेवा आवश्यक परेमा आफ्नो समूह “वैबसाथी” मार्फत सम्पर्क गर्न आग्रहसमेत गरेका छन्।
विद्यालय प्रशासनले विद्यार्थीहरूको यस पहललाई व्यवहारिक सीप विकास र डिजिटल शिक्षाको उत्कृष्ट उदाहरणका रूपमा लिएको छ। यसले विद्यालयको सूचना प्रवाह, शैक्षिक गतिविधि र डिजिटल पहुँचलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।































