सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि कैलाली अस्पतालमा उपचार सेवा सुरु

Image
Nisarga Hospital

धनगढीस्थित कैलाली अस्पतालले सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा योगदानकर्ताका लागि स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । अस्पताल र सामाजिक सुरक्षा कोषबीच भएको सम्झौतापछि कोषमा आवद्ध व्यक्तिहरूले अब अस्पतालबाट विभिन्न स्वास्थ्य सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् । अस्पतालका अध्यक्ष जनकराज जोशीका अनुसार सामाजिक सुरक्षा कोषका योगदानकर्ताले कोषको प्रचलित व्यवस्था अनुसार विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरू पाउनेछन् ।

CP Hospital Dhangadhi
Attariya Hospital

सेवा लिन आउँदा सामाजिक सुरक्षा कोषको परिचयपत्र तथा आवश्यक कागजात साथमा ल्याउनुपर्ने उनले जानकारी दिए । उपचार सेवाअन्तर्गत लाग्ने कुल खर्चको २० प्रतिशत रकम भने लाभग्राही स्वयंले व्यहोर्नुपर्ने व्यवस्था रहेको अस्पतालले जनाएको छ ।
यस सेवाको सुरुवातसँगै सामाजिक सुरक्षा कोषमा आवद्ध कैलालीसहित सुदूरपश्चिमका हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सामाजिक सुरक्षा कोषले देशभरका स्वास्थ्य संस्थासँग सहकार्य विस्तार गर्दै आफ्ना योगदानकर्तालाई गुणस्तरीय स्वास्थ्य उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्ने नीति अनुरूप कैलाली अस्पतालसँग पनि सेवा विस्तार गरेको जनाएको छ । सेवा सञ्चालनमा आएपछि कैलाली तथा अन्य जिल्लाका सामाजिक सुरक्षा कोषमा आवद्ध नागरिकले उपचार सेवा प्राप्त गर्न थप सहज हुने विश्वास गरिएको छ । कैलाली अस्पताल प्रा.लि. ले एकै स्थानबाट बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले २४ सै घण्टा इमरजेन्सी, शल्यक्रिया (अप्रेसन), फार्मेसी तथा एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

अस्पतालमा मुटुरोग, हाडजोर्नी, नसा, मिर्गौला, छाला तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ चिकित्सकमार्फत नियमित उपचार सेवा प्रदान भइरहेको अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालमा अत्याधुनिक प्रविधिसहित आईसीयू, एनआईसीयू, भेन्टिलेटर, भिडियो एक्स–रे, इकोकार्डियोग्राफी, इन्डोस्कोपी लगायतका परीक्षण तथा उपचार सेवासमेत उपलब्ध छन् । साथै दूरबिन (ल्याप्रोस्कोपिक) प्रविधिबाट शल्यक्रिया सेवा सञ्चालन गरिनु अस्पतालको अर्को विशेषता रहेको छ । अस्पतालका अनुसार पछिल्लो समय सुदूरपश्चिमका मात्र होइन छिमेकी मुलुक भारतबाट पनि बिरामीहरु उपचार गर्न पुग्ने गरेका छन् । हाल ५० बेडको रहेको अस्पताल चाडै नै १०० बेडमा सञ्चालन हुने जनाएको छ ।