
धनगढीमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार र धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाले गम्भीर ध्यानाकर्षण जनाएका छन्।

दिनेश एफएम तथा दिनेश खबर डटकमकी कार्यकारी निर्देशक एवं पत्रकार आर्जु हमाल र पत्रकार नारायण अवस्थीमाथि भएको घटनाको महासंघले कडा निन्दा गरेको हो।
धनगढी उपमहानगरपालिका–३ स्थित भाटभटेनी नजिक दुई समूहबीच भएको खुकुरी हानाहान सम्बन्धी भिडियो समाचार प्रकाशित भएपछि विनोद ओझाले सञ्चार गृहमै पुगेर पत्रकार हमालमाथि गालीगलौज, धम्की तथा दुर्व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ।




महासंघका अनुसार ओझाले समाचार सामग्री हटाउन दबाब दिँदै “किन राखेको, कसलाई सोधेर राखेको” भन्दै धम्की दिएका थिए। उनले घटना अघि फोनमार्फत गालीगलौज गर्नुका साथै सामाजिक सञ्जालमार्फत पनि अपमानजनक टिप्पणी गरेको आरोप छ।
घटनापछि पत्रकारहरूले यस्तो व्यवहारले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि प्रहार भएको बताएका छन्।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाले उक्त घटनाको कडा निन्दा गर्दै पत्रकार सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्। साथै, दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ।



































