
भारतमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै कक्रोच जनता पार्टी (सिजेपी) ले राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा विशाल प्रदर्शन गरेको छ। पार्टीका संस्थापक अभिजित दिप्केको आह्वानमा शनिबार बिहानदेखि सुरु भएको प्रदर्शन सिजेपीको पहिलो सार्वजनिक शक्ति प्रदर्शनका रूपमा देखिएको हो। त्यहाँ सयौं युवा सहभागी भई शिक्षामन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्। प्रदर्शनमा लद्दाखका अभियानी सोनम वाङ्चुकको पनि उपस्थिति देखिएको छ।

दिप्केले शिक्षामन्त्रीलाई शनिबार साँझ ५ बजेसम्म राजीनामाको अल्टिमेटम दिँदै माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। शिक्षा मन्त्रालयमाथि सन् २०२६ को प्रश्नपत्र चुहावट तथा सीबीएसई ओएसएम प्रणालीमा अनियमितताको आरोप पनि लागेको छ। प्रदर्शनलाई व्यंग्यात्मक रूपमा सुरु भएको सिजेपी अहिले युवा–केन्द्रित राजनीतिक अभियानका रूपमा विस्तार भएको दाबी गरिएको छ। पार्टीको इन्स्टाग्राम फलोअर संख्या २ करोड २० लाख नाघेको दाबी गरिएको छ, जुन प्रमुख दलहरूभन्दा बढी भएको बताइएको छ।

३० वर्षीय दिप्के महाराष्ट्रका हुन् र उनले पत्रकारिता अध्ययनपछि अमेरिका गएर पब्लिक रिलेसनमा स्नातकोत्तर पूरा गरेका छन्। यसअघि उनी आम आदमी पार्टीसँग सामाजिक सञ्जाल तथा चुनावी अभियानमा काम गरिसकेका थिए। यो आन्दोलन अदालतको सुनुवाइका क्रममा प्रधानन्यायाधीशले केही व्यक्तिलाई ‘कक्रोच’ र ‘परजीवी’ भनेको टिप्पणीपछि व्यंग्यात्मक अभियानका रूपमा सुरु भएको थियो। त्यसपछि यो समूह सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदै युवा–केन्द्रित राजनीतिक अभियानमा रूपान्तरण भएको दाबी गरिएको छ। पार्टीले आफ्नो लोकप्रियता द्रुत गतिमा बढ्दै गएको र आगामी दिनमा देशव्यापी अभियान विस्तार गर्ने योजना रहेको पनि जनाएको छ।

































