
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद अन्ततः भागबण्डा सहमतिसँगै टुंगिएको छ। मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट दिवान सिंह विष्ट पक्षबीच मन्त्रालय बाँडफाँटमा सहमति भएपछि लामो समयदेखिको तनाव अन्त्य भएको हो।

केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणाको उपस्थितिमा शनिबार साँझ भएको छलफलपछि विवाद निरुपण गरिएको हो। सहमतिअनुसार आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री शाहले आफैँसँग राख्नेछन् भने थप एक राज्यमन्त्री पनि उनको पक्षलाई दिने निर्णय भएको छ।

त्यस्तै सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विष्ट पक्षले पाउनेछ। शाह पक्षले अर्थसहित सामाजिक विकास राज्यमन्त्री पनि लिनेछ भने विष्ट पक्षलाई अर्थ राज्यमन्त्री दिने सहमति भएको छ।

यसअघि ९ प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि राजनीतिक समीकरणमा फेरबदल आएको थियो। नयाँ सहमतिले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व तत्कालका लागि स्थिर भएको छ।































