बाढी आयो भने के गर्ने? खल्लागोठमा यसरी गरियो कृत्रिम अभ्यास, सरोकारवालाको सक्रिय सहभागिता

Image
Nisarga Hospital

कञ्चनपुर: विश्व वातावरण दिवसको अवसर पारेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित खल्लागोठमा बाढीको कृत्रिम घटना (Mock Drill) अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।

CP Hospital Dhangadhi

कार्यक्रमले स्थानीय समुदायलाई विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा आवश्यक सीप र ज्ञान प्रदान गरेको आयोजकले जनाएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुरको समन्वय तथा मर्सीकोर संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा मछेली नदी सामुदायिक विपद् व्यवस्थापन समिति खल्लागोठद्वारा आयोजित कार्यक्रममा सामुदायिक विपद् व्यवस्थापन समिति तथा विभिन्न कार्यदलका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

मछेली नदी तटीय क्षेत्रमा सञ्चालन गरिएको अभ्यासका क्रममा बाढीजन्य विपद् आइपर्दा पूर्वसूचना प्रणाली कसरी सञ्चालन गर्ने, प्रभावित व्यक्तिहरूको खोज तथा उद्धार कसरी गर्ने, प्राथमिक उपचार सेवा कसरी उपलब्ध गराउने लगायतका विषयमा व्यवहारिक अभ्यास गरिएको थियो। कार्यक्रममार्फत स्थानीय नागरिकलाई विपद्का बेला अपनाउनुपर्ने सावधानी र सामुदायिक तयारीबारे समेत सचेतना प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै मछेली नदी सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर महता ले यस्ता अभ्यासले समुदायलाई विपद्का बेला आत्मविश्वासका साथ कार्य गर्न सक्षम बनाउने बताए। उनले भने, “विपद् आउनुअघि नै तयारी हुनु सबैभन्दा महत्वपूर्ण पक्ष हो। आजको अभ्यासले समुदायलाई जोखिमको सामना गर्न थप सक्षम बनाएको छ।”

nawajiwan

कृष्णपुर नगरपालिका–२ की वडा सदस्य तथा कार्यपालिका सदस्य सावित्री भारती ले विपद् व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। उनका अनुसार पूर्वतयारी र जनचेतनाले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न ठूलो सहयोग पुग्छ।

Attariya Hospital

NNSWA द्वारा कृष्णपुरमा सञ्चालित (CRC) समुदायका लागि जलवायु उत्थानशीलता परियोजनाकी फिल्ड सहायक अधिकृत रिमा खनाल ले जलवायु परिवर्तनका कारण बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताउँदै समुदायको क्षमता अभिवृद्धिका लागि यस्ता अभ्यास प्रभावकारी हुने धारणा राखिन्।

कार्यक्रममा मर्सीकोरकी प्रतिनिधि शोभा कोइराला, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायव निरीक्षक जगदीश प्रसाद भट्ट, कृष्णपुर नगरपालिकाको विपद् शाखाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

स्थानीय सहभागीहरूले पनि बाढीको कृत्रिम घटना अभ्यासबाट विपद्का बेला कसरी सुरक्षित रहने, उद्धारमा कसरी सहयोग गर्ने र पूर्वसूचनाको महत्वबारे व्यवहारिक ज्ञान प्राप्त भएको बताएका छन्। आयोजकका अनुसार समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै सुरक्षित र उत्थानशील समाज निर्माण गर्ने उद्देश्यले आगामी दिनमा समेत यस्ता कार्यक्रम सञ्चालन गरिनेछ।