
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको अन्तिम तयारी थालेको छ। पार्टीभित्र देखिएको असन्तुष्टि व्यवस्थापनका लागि भइरहेको छलफलपछि दुवै पक्षले नयाँ मन्त्री छनोट प्रक्रिया अघि बढाएका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री चयन गर्ने तयारी गरिरहेको छ भने देवानसिंह विष्ट पक्षले दुई मन्त्री तथा एक राज्यमन्त्रीको नाम टुंग्याउन आन्तरिक छलफल तीव्र बनाएको छ। कांग्रेसभित्र मन्त्री हेरफेरको प्रक्रिया अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका बेला सत्ता साझेदार नेकपा एमालेभित्र पनि मन्त्री परिवर्तनको बहस सुरु भएको छ। हाल सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री रहेका छन्।


भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा सार्की कार्यरत छन्। यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी निर्मला साउदले सम्हालिरहेकी छन्।
उनीहरू २०८१ साउनमा मन्त्री नियुक्त भएका थिए। करिब दुई वर्षदेखि एउटै टोली मन्त्री रहेकाले अब अन्य सांसदलाई पनि अवसर दिनुपर्ने आवाज एमालेभित्र उठ्न थालेको छ। केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा समेत मन्त्री हेरफेरको विषय उठाइएको थियो। ओलीले यसबारे आवश्यक परामर्श गरी निर्णय लिने संकेत दिएका थिए। यससँगै सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस र एमाले दुवै दलभित्र मन्त्री हेरफेरको चर्चा तीव्र बनेको छ।
































