
कञ्चनपुरको बेलौरी नगरपालिका–४ निवासी वीरेन्द्र सिंह बुडाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। पार्टीको प्रदेश कार्यालयले उनलाई उक्त पदमा नियुक्त गरेको हो।

प्रदेश सभापति ई. प्रकाश विष्टले बुडाललाई औपचारिक नियुक्ति पत्र प्रदान गरेका हुन्। वैशाख ३० गते जारी गरिएको पत्रअनुसार बुडाललाई पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावली र कार्यविधिअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य क्षेत्रमा सक्रिय बुडाल हाल धनगढीस्थित नोभा हस्पिटलमा कार्यरत छन्। चिकित्सकीय अनुभव र व्यावसायिक पृष्ठभूमिका कारण उनलाई उक्त जिम्मेवारी दिइएको पार्टी स्रोतले जनाएको छ।

रास्वपाले प्रदेशस्तरमा संगठन विस्तार र विभागीय संरचना सुदृढीकरणलाई तीव्रता दिइरहेका बेला बुडालको नियुक्तिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। उनले स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा पार्टीको नीति कार्यान्वयन र कार्यक्रम विस्तारमा योगदान गर्ने अपेक्षा गरिएको छ।
































