
अत्तरिया : गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यू सृजनशील युवा क्लबको आयोजनामा सम्पन्न वडा स्तरीय खुला भलिबल प्रतियोगिता २०८३ को उपाधि आयोजक टोलीले जितेको छ।

खेलकुद विकास तथा युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले शुक्रबारदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल आइतबार सम्पन्न भएको थियो। उपाधिका लागि आयोजक टोली ‘९ बि’ र गोदावरी नगरपालिका–१० बीच प्रतिस्पर्धा भएकोमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दुई सेट जितेर च्याम्पियन बन्न सफल भयो।
फाइनल खेलमा सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको आयोजक टोलीले पहिलो सेट आफ्नो पक्षमा पार्दै दबाब सिर्जना गरेको थियो। दोस्रो सेटमा पनि उत्कृष्ट लय कायम राख्दै २५–१८ को नतिजासहित जित हात पारेर प्रतियोगिताको उपाधि उचाल्न सफल भयो।


प्रतियोगिताको विजेता आयोजक टोलीले नगद रु। २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको गोदावरी नगरपालिका–१० ले नगद रु। १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हासिल गरेको आयोजकले जनाएको छ। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाका खेलाडीहरूलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइएको थियो भने सबै खेलहरू सृजनशील युवा क्लबको खेलमैदानमा सम्पन्न भएका थिए।
स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान र खेल संस्कृतिको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।
































