
सुदूरपश्चिमको तराई र पहाड जोड्ने एक मात्र प्रमुख मार्ग भीमदत्त राजमार्गको स्तरोन्नति काम ठप्प भएको छ। कैलालीको गोदावरीदेखि सहजपुरसम्म ३१ किलोमिटर सडक कालोपत्रे गर्ने काम इन्धनको मूल्यवृद्धि र बिटुमिन (अलकत्रा) अभावका कारण करिब एक महिनादेखि रोकिएको हो। हालसम्म मात्र २५ प्रतिशत भौतिक प्रगति भएको छ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले राजधानी कन्स्ट्रक्सनसँग ६ करोड ९५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको भए पनि काम समयमै अघि बढ्न सकेको छैन। आगामी २० असारसम्म काम सक्ने लक्ष्य भए पनि अब पूरा नहुने अवस्था देखिएको छ।
निर्माण कम्पनीका प्रतिनिधि प्रकाश धामीका अनुसार बिटुमिनको मूल्य दोब्बरभन्दा बढी पुगेको र ढुवानी खर्च पनि अत्यधिक बढेकाले काम रोक्नुपरेको हो। आपूर्तिकर्ताबाट सामग्री नपाएपछि रकम फिर्ता गर्नुपरेको उनले बताए।


यसैबीच, सडक डिभिजनका अनुसार ३१ किलोमिटर खण्डमध्ये पहिरोले बगाएको गोदावरीको बुढीतोला क्षेत्रको ३४० मिटर सडक पनि अझै कालोपत्रे हुन सकेको छैन। तीन वर्षअघि पहिरोले क्षति पुर्याएको उक्त स्थानमा अस्थायी सुधार भए पनि स्थायी समाधान र कालोपत्रे बाँकी छ।
सडक डिभिजन प्रमुख राकेशकुमार यादवका अनुसार निर्माण कम्पनीलाई काम अघि बढाउन निरन्तर ताकेता गरिएको छ। तर सामग्री अभावका कारण प्रगति हुन नसकेको हो।
यो राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने जीवनरेखा हो। काम रोकिँदा यात्रुहरू खाल्डाखुल्डी, धुलो र हिलोको सास्ती भोग्न बाध्य छन्। थप ढिलाइ भए राजमार्गको मर्मत तथा स्तरोन्नति अझ प्रभावित हुने देखिन्छ।
































