
अत्तरियाः सरकारी कार्यालयका सूचना तथा सन्देश सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ कैलाली शाखाले विरोध जनाएको छ। आइतबार महासंघले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्णय तत्काल फिर्ता लिन माग गरेको हो।

महासंघले उक्त निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र निजी सञ्चारमाध्यमको अस्तित्वमाथि गम्भीर असर पर्ने जनाएको छ। केन्द्रीय समितिको आह्वानअनुसार देशव्यापी आन्दोलनअन्तर्गत कैलाली शाखाले पनि विरोधका कार्यक्रम तीव्र पारेको हो।

महासंघका सचिव तेजराज भट्टले सरकारी विज्ञापन सीमित माध्यममा केन्द्रित गर्दा हजारौँ पत्रकार र सञ्चार संस्थाको आर्थिक आधार कमजोर हुने बताए। उनले यस्तो निर्णयले सञ्चार क्षेत्रमा बहुलवाद, प्रतिस्पर्धा र नागरिकको सूचनामा पहुँचसमेत प्रभावित हुने उल्लेख गरे।

महासंघले निर्णय सच्याउन माग गर्दै अन्यथा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएको छ। आन्दोलनको दोस्रो चरणमा जेठ २७ र २८ गते जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना कार्यक्रम तय गरिएको छ।
































