कञ्चनपुर रास्वपामा पदमबहादुर विष्ट पुनः सभापतिमा निर्वाचित

Image
Nisarga Hospital

कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा पदमबहादुर विष्ट पुनः निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो।

CP Hospital Dhangadhi

निर्वाचनको अन्तिम परिणामअनुसार विष्टले १९७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नवीनबहादुर चन्दलाई १३६ मतान्तरले पराजित गरे। चन्दले ६१ मत प्राप्त गरेका थिए। विष्ट यसअघि पनि जिल्ला सभापति रहेका थिए।

उपसभापति पदमा भागरथी बडाल निर्विरोध निर्वाचित भएकी छन् भने सहसचिवमा यज्ञराज जोशी पनि निर्विरोध चयन भएका छन्। सचिव पदमा भने प्रतिस्पर्धा भएको थियो, जहाँ राकेशबहादुर चन्द १९५ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी रामदत्त भट्टले ५५ मत प्राप्त गरे। जिल्ला सभापति र सचिव पदका लागि कुल २५९ मत खसेको थियो।

nawajiwan
Attariya Hospital

यसैगरी निर्वाचन क्षेत्र नम्बर–३ को सभापतिमा अम्बादत्त जोशी १२६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरे।

सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो। नवनिर्वाचित सचिव चन्दले संगठनलाई थप सुदृढ बनाउँदै पार्टी गतिविधिलाई प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन्।

शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचनले कञ्चनपुरमा रास्वपाको संगठनात्मक आधार थप मजबुत भएको संकेत गरेको नेताहरूको भनाइ छ। नयाँ नेतृत्वसँगै संगठन विस्तार, जनसम्पर्क र पार्टी गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ।