
अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली निर्वाचन क्षेत्र नं. ४ को सभापतिमा गोदावरी नगरपालिका–अत्तरियाका युवा नेता दुर्गा प्रसाद अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट अधिकारी नेतृत्वमा पुगेका हुन्।

सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय अधिकारी युवामाझ लोकप्रिय, इमानदार र भरोसायोग्य नेतृत्वका रूपमा परिचित छन्। निर्वाचनपछि उनले जनताको विश्वासलाई केन्द्रमा राख्दै पार्टीको नीति, सिद्धान्त र मूल्य–मान्यतालाई आत्मसात गर्दै क्षेत्रको विकास, सुशासन, पारदर्शिता र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले संगठनलाई जनतासँग अझ नजिक बनाउँदै नागरिकका समस्या समाधान र सकारात्मक राजनीतिक संस्कृतिको विकासमा आफ्नो नेतृत्व केन्द्रित रहने उल्लेख गरे।
यसैबीच, रास्वपा गोदावरी नगरपालिका उपसभापति गंगादत्त (जीडी) जोशीले सक्षम नेतृत्वले मात्र संगठनलाई प्रभावकारी र जनमुखी बनाउन सक्ने बताएका छन्। उनले कैलाली–४ मा अधिकारीको नेतृत्वले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।


जोशीका अनुसार अधिकारीको नेतृत्वले संगठन विस्तार, युवाको सक्रिय सहभागिता वृद्धि र जनताका मुद्दा प्रभावकारी रूपमा उठान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
नव–निर्वाचित सभापति अधिकारीको नेतृत्वमा रास्वपा कैलाली–४ ले संगठन सुदृढीकरणसँगै विकास, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। स्थानीयदेखि क्षेत्रीय तहसम्म पार्टीको प्रभाव विस्तारमा उनको भूमिका महत्वपूर्ण हुने पार्टी कार्यकर्ताहरूले विश्वास व्यक्त गरेका छन्।































