
कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्रराजमार्गमा सोमबार दिउँसो ईभी हाईस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ज ४९६ नम्बरको ईभी हाईस दिउँसो करिब ३ः३० बजे अनियन्त्रित भई सडक छेउको नालातर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुर्घटनामा चालकसहित १७ जना सवारमध्ये १३ जना घाइते भएका हुन्।

घाइतेमध्ये कृष्णपुर–९ का ४३ वर्षीय पुष्करराज गिरी, बेदकोट–१० का २० वर्षीय जीवनसिंह कडाल, टिकापुर–९ की ४५ वर्षीया राधादेवी शाह र धनगढी–५ की २५ वर्षीया सम्झना सिंह मध्यम घाइते भएका छन्। अन्य घाइतेहरूमा वृद्धदेखि किशोरीसम्म रहेका छन्, जसलाई सामान्य चोट लागेको बताइएको छ।

सबै घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको छ। घटनामा दार्चुला, डडेल्धुरा र कञ्चनपुरका विभिन्न स्थानका यात्रुहरू रहेका थिए।

हाईस चालक कञ्चनपुर सुन्दरपुरका २८ वर्षीय हेम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको र सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
































