२०८४ को कुम्भ मेलालाई ऐतिहासिक बनाउन गोदावरी धाममा विशेष छलफल, छत्र भट्ट संयोजक नियुक्त

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिमको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गौरवका रूपमा परिचित गोदावरी धाममा २०८४ सालमा आयोजना हुने कुम्भ मेलालाई भव्य, व्यवस्थित र ऐतिहासिक बनाउन सरोकारवालाबीच विशेष छलफल तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

गोदावरी धामको समग्र विकास, धार्मिक पर्यटन प्रवर्द्धन, पूर्वाधार विस्तार तथा कुम्भ मेलाको प्रभावकारी व्यवस्थापनका विषयमा केन्द्रित उक्त कार्यक्रममा योजनाकार, समाजसेवी, राजनीतिकर्मी, बुद्धिजीवी, धार्मिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कुम्भ मेलालाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलका क्रममा समाजसेवी तथा विकासप्रेमी व्यक्तित्व छत्र भट्ट लाई २०८४ सालको कुम्भ मेलाको संयोजक को जिम्मेवारी प्रदान गरिएको छ। जिम्मेवारी ग्रहण गर्दै भट्टले गोदावरी धामको धार्मिक महत्त्वलाई विश्वसामु चिनाउन र कुम्भ मेलाको प्रचार–प्रसारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले विशेषगरी विदेशमा रहेका नेपाली समुदायलाई मेलासँग जोड्ने र धार्मिक पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

nawajiwan
Attariya Hospital

भेलामा सहभागी वक्ताहरूले गोदावरी धामलाई धार्मिक आस्था, सांस्कृतिक सम्पदा र पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न पूर्वाधार निर्माण, सरसफाइ, सुरक्षा व्यवस्थापन, पार्किङ, आवास सुविधा तथा प्रचार–प्रसारका क्षेत्रमा एकीकृत रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, कुम्भ मेलालाई सफल बनाउन सरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा स्थानीय समुदायबीच बलियो सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो।

सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तीर्थस्थलका रूपमा परिचित गोदावरी धाममा प्रत्येक वर्ष हजारौं भक्तजन दर्शन, पूजा–आराधना तथा धार्मिक अनुष्ठानका लागि पुग्ने गर्दछन्। प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र सांस्कृतिक विविधताले समृद्ध यस क्षेत्रमै आयोजना हुने २०८४ सालको कुम्भ मेलाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यापार, रोजगारी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले कुम्भ मेलालाई सुरक्षित, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सबै पक्षबीच समन्वय, सहकार्य र साझा उत्तरदायित्व आवश्यक रहेको निष्कर्ष निकाल्दै तयारीलाई तीव्रता दिने निर्णय गरेको छ। स्थानीयवासी तथा सरोकारवालाहरूको सक्रिय सहभागिताले आगामी कुम्भ मेला गोदावरी धामको इतिहासकै सबैभन्दा भव्य धार्मिक महोत्सव बन्ने विश्वास व्यक्त गरिएको छ।