कञ्चनपुरका दुई विद्यालयले जिते अन्तर्राष्ट्रिय विज्ञान मेला यात्रा, हेटौँडामा ‘छुकछुके रोबोट’ प्रदर्शनसँगै रु २० हजार पुरस्कार

Image
Nisarga Hospital

अत्तरियाः  कञ्चनपुरका सनलाइट पब्लिक स्कुल र वेदान्त स्कुलले ताइवानमा आयोजना हुने प्रतिष्ठित ‘ताइवान अन्तर्राष्ट्रिय विज्ञान मेला २०२७’ का लागि शीर्ष ३ स्थानभित्र पर्न सफल हुँदै अन्तर्राष्ट्रिय मञ्चको यात्रा सुनिश्चित गरेका छन्। यसै क्रममा उनीहरूले हेटौँडामा आफ्नो नवप्रवर्तन प्रदर्शन गर्दै थप सफलता हासिल गरेका छन्।

CP Hospital Dhangadhi

सोमबार हेटौँडामा हेटौँडा रिसर्च एण्ड इनोभेसन सेन्टर (HRIC) द्वारा आयोजित ‘STEAM प्रतिस्पर्धा’ मा सहभागी भएका यी दुई विद्यालयका विद्यार्थीहरूले संयुक्त रूपमा तयार पारेको ‘छुकछुके रोबोट’ (Chukchuke Robot) प्रदर्शन गरेका थिए। सनलाइट पब्लिक स्कुलका छात्र अक्षत रोकाया र वेदान्त स्कुलका छात्र दिवस भाटले तयार पारेको उक्त रोबोटले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो।

nawajiwan

उत्कृष्ट प्रस्तुति र नवप्रवर्तनका लागि उनीहरूले रु २० हजार नगद पुरस्कारसमेत प्राप्त गरेका छन्। कार्यक्रममा गोदावरी आविष्कार केन्द्र प्राविधिक साझेदारका रूपमा रहेको थियो। रोबोटको डिजाइन र कार्यक्षमताले विद्यार्थीहरूको सिर्जनशीलता र प्राविधिक क्षमता स्पष्ट रूपमा देखाएको आयोजकहरूले बताएका छन्।

Attariya Hospital

कार्यक्रम निर्देशक किशन बास्तोलाले यस वर्षको प्रतिस्पर्धा विशेष रूपमा ‘रिसर्च डिजाइन’ मा केन्द्रित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक अनुसन्धान र नवप्रवर्तनतर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

यस उपलब्धिसँगै दुवै विद्यालयका विद्यार्थीहरू उत्साहित देखिएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउने अवसरलाई ठूलो उपलब्धिका रूपमा लिएका छन्।

स्थानीय स्तरमै विकास भएका यस्ता परियोजनाहरूले नेपाली विद्यार्थीको क्षमता विश्वस्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।