
मध्यपूर्वमा इजरायल र हिजबुल्लाहबीचको तनाव पुनः तीव्र बनेको छ। इरान समर्थित हिजबुल्लाहविरुद्ध इजरायलले लेबनानमाथि निरन्तर आक्रमण जारी राखेको छ। दुवै पक्षले युद्धविरामको संकेत दिएको भोलिपल्ट नै पुनः आक्रमण भएको हो।

इजरायली सेनाले दक्षिणी लेबनानको टायर सहरलाई लक्ष्य गर्दै हवाई आक्रमण गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हमलामा २९ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यसैबीच हिजबुल्लाहले पनि सोमबार राति अग्रसर इजरायली सेनामाथि रकेट प्रहार गरेको दाबी गरेको छ।

गत मार्चदेखि जारी यस संघर्षमा हालसम्म लेबनानमा मात्र ३,६६६ जनाको मृत्यु भइसकेको छ, जसले मानवीय संकट गहिरो बनाएको छ।

यसै क्रममा इरानी सञ्चारमाध्यमले सोमबार भएको इजरायली आक्रमणमा इरानी वायुसेनाका दुई जवान मारिएको जनाएको छ। अर्कोतर्फ, अमेरिकी सेनाले हर्मोज स्ट्रेट नजिकै अपाचे हेलिकप्टर दुर्घटना भएको घटनाको अनुसन्धान थालेको छ भने चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको छ।
































