
अत्तरियाः गोदावरी नगरपालिकाले जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ । साथै, प्रदेशस्तरीय डडेल्धुरा र केन्द्रस्तरीय काठमाण्मौं सहभागी भई पदक हासिल गर्ने खेलाडीहरूलाई पनि नगरपालिकाले सम्मान गरेको छ ।

जेठ १ गतेदेखि बर्दगोरिया गाउँपालिका मा सम्पन्न १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोदावरी नगरपालिकाका खेलाडीहरूलाई नगरपालिकाले अबिर, मेडल र प्रमाणपत्र प्रदान गर्दै विशेष सम्मान गरेको हो ।
सम्मान कार्यक्रम नगर प्रमुख बिरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, युवा तथा खेलकुद शाखा अधिकृत विष्णुराज अवस्थी, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि तथा खेलकुद प्रशिक्षकहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।


उक्त प्रतियोगितामा धनगढी उपमहानगरपालिका ले ३० स्वर्ण, १४ रजत र ८ कास्यसहित कुल ५२ पदक जित्दै उपाधि हात पारेको थियो । यस्तै घोडाघोडी नगरपालिका १९ स्वर्णसहित ४७ पदकका साथ दोस्रो स्थानमा रह्यो भने गोदावरी नगरपालिकाले ७ स्वर्ण, २४ रजत र १६ कास्यसहित कुल ४७ पदक जित्दै तेस्रो स्थान हासिल गरेको थियो ।
समापन समारोहमा गोदावरी नगरपालिकाले आगामी १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी ग्रहण गरेको छ । नगरपालिकाले प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
नगर प्रमुख भट्टले खेल हारजितभन्दा पनि अनुशासन, लगनशीलता र प्रतिभा विकास महत्वपूर्ण हुने उल्लेख गर्दै उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई बधाई दिएका छन् । उनले आगामी गोदावरी नगरपालिकामा नै हुने १७ ओं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सफल आयोजनाका लागि अहिलेबाटै तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन् ।
































