
अत्तरियाः कैलालीस्थित गेटा आँखा अस्पतालमा देखिएको भनिएको बेथिति, अव्यवस्था र व्यवस्थापकीय कमजोरीविरुद्ध स्थानीयवासीको आन्दोलन थप सशक्त बन्दै गएको छ। गेटा आँखा अस्पतालको बेथितिविरुद्ध गठित सङ्घर्ष समितिले बुधबार अस्पतालको मूल गेटअगाडि सिटी बजाएर विरोध प्रदर्शन गर्दै आफ्ना मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।

सङ्घर्ष समितिका संयोजक गणेशराज विष्टले जेठ १९ गतेदेखि चरणबद्ध आन्दोलन जारी रहेको बताउँदै आन्दोलनको मुख्य कारण अस्पतालभित्र देखिएको प्रशासनिक विवाद, अव्यवस्था र सेवाप्रवाहमा देखिएका समस्या रहेको बताए। उनले अस्पतालका विद्यमान समस्याको समाधान नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे।
उपसंयोजक रामचन्द्र भट्टले अस्पताल बन्द गराउने उद्देश्य नभई सेवाग्राहीलाई असर नपर्ने गरी व्यवस्थापन सुधारका लागि दबाब सिर्जना गर्न आन्दोलन गरिएको बताए। उनले अस्पतालमा स्थानीयको सहभागिता कमजोर भएकाले बेथिति बढ्दै गएको दाबी गर्दै नेत्र ज्योति सङ्घको आजीवन सदस्यतामा स्थानीयलाई प्रत्यक्ष सहभागिता गराउनुपर्ने माग गरे।


सचिव भरत खड्काले मागहरूको सुनुवाइ गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सिटी बजाएर प्रदर्शन गरिएको जानकारी दिए। स्थानीय सिद्धराज भट्टले सबै निर्णय केन्द्रबाट हुने प्रवृत्तिका कारण समस्या बढेको भन्दै स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
यसअघि मंगलबार शंख फुकेर विरोध जनाएको सङ्घर्ष समितिले कालो पट्टी बाँधेर आन्दोलन जारी राखेको छ। माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत समितिले दिएको छ।































