
धनगढी: सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूले धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बाट पनि कोष अन्तर्गतको उपचार सुविधा प्राप्त गर्न सक्ने भएका छन्। गुणस्तरीय स्वास्थ्य सेवासँगै सामाजिक सुरक्षा कोषको सुविधा उपलब्ध भएपछि सुदूरपश्चिमका हजारौं श्रमिक तथा उनका परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।

निसर्ग अस्पतालका प्रशासन प्रमुख रामप्रसाद ओझाका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत व्यक्तिहरूलाई अस्पतालमार्फत उपचार सेवा प्रदान गरिँदै आएको छ। यस व्यवस्थाले योगदानकर्ताहरूलाई उपचार खर्चको आर्थिक भार कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।
सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरिरहेका व्यक्तिहरूले निसर्ग अस्पतालमा उपचार गराउँदा तोकिएको मापदण्डअनुसार उपचार खर्चको ८० प्रतिशत रकम कोषबाट र २० प्रतिशत रकम स्वयं सेवाग्राहीले व्यहोर्नुपर्ने व्यवस्था रहेको छ।

कोष अन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजनामा आबद्ध योगदानकर्ताले एक वर्षमा अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ। यो सुविधा प्राप्त गर्न योगदानकर्ताले कम्तीमा तीन महिना नियमित रूपमा कोषमा योगदान गरेको हुनुपर्नेछ।
अस्पतालबाट उपचार सेवा लिएपछि चिकित्सकको प्रेस्क्रिप्सन, औषधि तथा उपचारसम्बन्धी सक्कल बिल, सामाजिक सुरक्षा कोषको परिचयपत्रलगायत आवश्यक कागजात पेश गरी दाबी प्रक्रिया पूरा गर्न सकिनेछ।
सामाजिक सुरक्षा कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षासँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा उपदान सुविधा समेत उपलब्ध गराउँदै आएको छ। मातृत्व सुरक्षा योजनाअन्तर्गत महिला योगदानकर्ताले सुत्केरी हुँदा आर्थिक सुविधा प्राप्त गर्ने व्यवस्था छ भने दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण प्रभावित श्रमिकलाई उपचार तथा आर्थिक सहायता उपलब्ध गराइन्छ।

अस्पताल प्रशासनका अनुसार सामाजिक सुरक्षा कोषको सुविधा प्रभावकारी रूपमा कार्यान्वयन भएपछि श्रमिक वर्गले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। उपचार खर्चको ठूलो हिस्सा कोषमार्फत उपलब्ध हुने भएकाले बिरामी र परिवारमाथिको आर्थिक भार समेत कम हुने विश्वास लिइएको छ।
धनगढीमा सञ्चालनमा रहेको १०० शैयाको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिमका बिरामीलाई विशेषज्ञ तथा सुपर–स्पेसियालिटी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
अस्पतालमा अत्याधुनिक आईसीयू, एनआईसीयू, २४सै घण्टा आकस्मिक सेवा, शल्यक्रिया सेवा, प्रसूति तथा स्त्रीरोग सेवा, बालरोग सेवा, हाडजोर्नी तथा मेरुदण्ड उपचार सेवा, न्यूरो तथा नसा रोग उपचार, जनरल फिजिसियन तथा क्रिटिकल केयर सेवा लगायतका सुविधा उपलब्ध छन्।
दक्ष चिकित्सक, अनुभवी स्वास्थ्यकर्मी तथा आधुनिक उपकरणमार्फत गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको निसर्ग अस्पतालले सामाजिक सुरक्षा कोषको सुविधा समेत उपलब्ध गराउन थालेपछि सुदूरपश्चिमका नागरिकलाई थप सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासनले सामाजिक सुरक्षा कोषमा आबद्ध सम्पूर्ण योगदानकर्तालाई आफूले पाउने स्वास्थ्य सुरक्षा सुविधाको पूर्ण उपयोग गर्न तथा आवश्यकता पर्दा निसर्ग अस्पतालबाट सेवा लिन आग्रह गरेको छ।































