
कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा सञ्चालनका लागि सरकारले रु २ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत उक्त रकम विनियोजन गरिएको हो।

आगामी शैक्षिक सत्रदेखि एमबिबिएस ५०, बीएससी ३०, बीएसी एमएलटी २० र बी अप्टोमेट्री २० सिटमा अध्ययन अध्यापन गराउने तयारी छ। कार्यक्रम सञ्चालनका लागि सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पताल आबद्ध गर्ने तयारी गरिएको छ। बजेटमा विश्वविद्यालयका लागि १ अर्ब ७१ करोड ८७ लाख र विश्वविद्यालय अनुदानतर्फ ८१ करोड ४९ लाख ८४ हजार विनियोजन गरिएको छ। स्थानीय तथा सरोकारवालाले बजेट विनियोजनप्रति खुसी व्यक्त गर्दै आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा सञ्चालन हुने अपेक्षा गरेका छन्।


प्रतिनिधि सभा सदस्य खेम कोइरालाले कार्यान्वयनमा सबै पक्षले सहयोग गर्न आग्रह गरेका छन्। सरकारले अपुग भए थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ भने विश्वविद्यालय सञ्चालनले सुदूरपश्चिममा चिकित्सा शिक्षाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। स्थानीयले निरन्तर कार्यान्वयनमा जोड दिएका छन् ।
































