
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापतिका लागि डा. जनक राज पन्तले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार अत्तरियामा पत्रकार सम्मेलन गर्दै उनले असार १ गते हुने प्रदेश अधिवेशनका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।

पार्टीको अभियान तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य रहेका पन्तले आफ्नो उम्मेदवारीसँगै प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन्। उनले संगठनलाई आधुनिक, व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउने मुख्य लक्ष्य रहेको बताएका छन्।

प्रतिबद्धता पत्रमा उनले प्रदेशस्तरमा आधुनिक पार्टी भवन निर्माण, जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तार, डिजिटल प्रणालीमार्फत पार्टी सञ्चालन, कार्यकर्ताको क्षमता विकास तथा आर्थिक पारदर्शिता सुनिश्चित गर्ने योजना समेटिएको छ।

त्यसैगरी, पार्टी कार्यालयलाई स्मार्ट बनाउने, अक्षयकोष स्थापना गर्ने, विज्ञ समिति गठन गर्ने, सुदूरपश्चिमका लागि वेबसाइट निर्माण गर्ने तथा जिल्लामा व्यवस्थित कार्यालय स्थापना गर्ने योजना पनि उनले अघि सारेका छन्। निःशुल्क स्वास्थ्य उपचारमा पहल गर्ने र रोजगारी सिर्जनाका लागि ‘घण्टी मार्ट’ स्थापना गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
पन्तले सबै नेता–कार्यकर्ताको साथ र सहयोगले सुदूरपश्चिममा पार्टीलाई सशक्त बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। उनले आफूले झुट नबोल्ने र सुदूरपश्चिम तथा पार्टी दुवैको शिर उच्च राख्ने गरी काम गर्ने दाबी गरेका छन्। डा. पन्त टिभी टुडेका सञ्चालक समेत हुन्।
































