टेम्पोको भाइरल भिडियोपछि वन कार्यालयको स्पष्टोक्ति : ‘टेम्पो जानाजान भीरबाट खसालिएको होइन’

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गत चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटनापछि सामाजिक सञ्जालमा उठेका आरोपबारे डिभिजन वन कार्यालय कैलालीले औपचारिक स्पष्टोक्ति दिएको छ। कार्यालयले वन कर्मचारीले नियतवश टेम्पोलाई भीरबाट धकेलेर खसालेको भन्ने प्रचार तथ्यहीन रहेको दाबी गर्दै घटनाको वास्तविकता सार्वजनिक गरेको हो।

CP Hospital Dhangadhi

कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी जारी गरेको प्रेस विज्ञप्तिमा उक्त क्षेत्र चुरे संरक्षण क्षेत्रभित्र पर्ने संवेदनशील सार्वजनिक वन भएको उल्लेख गर्दै वर्षौंदेखि भइरहेका अतिक्रमण नियन्त्रणका लागि नियमित अभियान सञ्चालन हुँदै आएको जनाएको छ। पछिल्ला पाँच महिनायता पुनः अवैध टहरा निर्माण र वन जमिन अतिक्रमण भएपछि हटाउने अभियान सञ्चालन गरिएको कार्यालयको भनाइ छ।

विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा देखिएको टेम्पो सञ्चालन अवस्थामा रहेको सवारी साधन नभई इन्जिनलगायतका मुख्य भाग निकालिएको पुरानो फलामे संरचना मात्र थियो, जसलाई अतिक्रमण गरी बनाइएको टहराको पर्खालका रूपमा प्रयोग गरिएको थियो। करिब एक महिनाअघि नै उक्त संरचना हटाउन निर्देशन दिइए पनि सम्बन्धित पक्षले अटेर गरेपछि वन कर्मचारीले हटाएर सडक किनारमा राखेका थिए। तर पुनः सोही स्थानमा ल्याएर राखिएपछि जेठ २९ गतेको अभियानमा बल प्रयोग गरी हटाउने क्रममा भौगोलिक बनावट र जमिनको असन्तुलनका कारण टेम्पो नियन्त्रणबाहिर गई भीरबाट खसेको कार्यालयले जनाएको छ।

nawajiwan
Attariya Hospital

वन कार्यालयले घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत नगर्न, तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम र सर्वसाधारणसँग आग्रह गरेको छ। साथै चुरे संरक्षण, सार्वजनिक वनको सुरक्षा र अतिक्रमण नियन्त्रण कानुनअनुसार भइरहेको उल्लेख गर्दै वन संरक्षण अभियानलाई कमजोर पार्ने उद्देश्यले फैलाइने भ्रमपूर्ण प्रचारप्रति सचेत रहन सबै पक्षलाई अनुरोध गरेको छ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि वन कर्मचारी र सरकारको आलोचना चुलिएको थियो। त्यसपछि डिभिजन वन कार्यालय कैलालीले पत्रकार सम्मेलनमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।