
कैलाली उद्योग वाणिज्य संघले वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।

संघका अध्यक्ष पुस्करराज ओझाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ मा सडक छेउको अतिक्रमण हटाउने क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ।

संघले वन अतिक्रमण हटाउने नाममा भएको धरपकड तथा अमानवीय व्यवहारप्रति आपत्ति जनाउँदै यस्ता कार्यले कानुनी शासन, मानवअधिकार तथा सार्वजनिक सेवाका मूल्य–मान्यतामाथि प्रश्न उठाएको उल्लेख गरेको छ। साथै, राज्यका निकायहरूले कानुन कार्यान्वयन गर्दा मानवीय संवेदनशीलता, नागरिकको सम्मान र विधिसम्मत प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

संघले यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित निकायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रहसमेत गरेको छ।
































