
उत्तर कोरियाले आफ्नो परमाणु हतियार कार्यक्रमबारे कठोर र अडिग अडान सार्वजनिक गर्दै यसलाई ‘अपरिवर्तनीय विषय’ भएको स्पष्ट पारेको छ। कोरियन सेन्ट्रल न्युज एजेन्सीमार्फत जारी वक्तव्यमा विदेश मन्त्रालयले अमेरिका र उसका सहयोगीहरूको परमाणु निशस्त्रीकरणसम्बन्धी दबाबलाई पूर्ण रूपमा अस्वीकार गरेको हो।

प्रवक्ताले परमाणु हतियार त्याग्ने मागलाई ‘अतार्किक बहस’ र ‘काल्पनिक धारणा’ भन्दै बाह्य दबाब, धम्की वा सैन्य कारबाहीले उत्तर कोरियाको परमाणु शक्ति सम्पन्न हैसियतमा कुनै परिवर्तन नआउने चेतावनी दिएका छन्। हालै अमेरिका, दक्षिण कोरिया र जापानबीच भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने विषय उठेपछि प्योङयाङले कडा प्रतिक्रिया दिएको हो।
दक्षिण कोरिया–अमेरिका संयुक्त बैठकले उत्तर कोरियाको पूर्ण, प्रमाणित र अपरिवर्तनीय निशस्त्रीकरणलाई साझा लक्ष्य दोहोर्याएको थियो। तर उत्तर कोरियाले यस्तो प्रयासलाई अस्वीकार गर्दै आफ्नो स्थिति कसैले बदल्न नसक्ने अडान दोहोर्याएको छ।


यसैबीच, चीनसँगको सम्बन्ध थप सुदृढ बनाउने संकेत गर्दै उत्तर कोरिया र चीनले ‘मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धि’ को ६५औँ वार्षिकोत्सव मनाएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले आर्थिक सहकार्य, पूर्वाधार विकास र सैन्य–कूटनीतिक समन्वय विस्तारमा जोड दिएका छन्।
दुवै देशबीचको छलफलमा ‘नयाँ युगको साझेदारी’ निर्माण गर्ने सहमति भएको छ भने अन्तर्राष्ट्रिय परिस्थितिमा पनि चीन–उत्तर कोरियाको रणनीतिक सम्बन्ध अझ मजबुत हुने बताइएको छ।
































