
बैतडीको पाटन नगरपालिका–८ का ६८ वर्षीय जयसिंह महरा तीन दिनदेखि बेपत्ता भएपछि मृत अवस्थामा फेला परेका छन्। पाटन नगरपालिका–२ स्थित थलकुडाको स्थानीय भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

महरा केही दिनअघि भैंसी खरिद गर्न घरबाट निस्किएका थिए। तर त्यसपछि उनी बाटोमै हराएका थिए र परिवारको सम्पर्कमा नआएपछि खोजी कार्य सुरु गरिएको थियो।

प्रहरीका अनुसार खोजीका क्रममा आइतबार उनको शव भिरमा देखिएको हो। घटनास्थलको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। परिवारले घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।
































