
टीकापुर: टीकापुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष नवराज रावलले संस्थाको साख, उपलब्धि र सुशासनलाई जोगाउन सबै पक्षलाई एकताबद्ध हुन विशेष अपील गरेका छन्। उनले संस्थाको वर्तमान अवस्थाबारे स्पष्ट पार्दै “संस्था आर्थिक रूपमा कमजोर छैन, तर आन्तरिक अमेल र असमझदारीले भविष्यमा चुनौती निम्त्याउन सक्छ” भन्दै गम्भीर ध्यानाकर्षण गराएका हुन्।

रावलका अनुसार टीकापुर खानेपानी आयोजना शून्य अवस्थाबाट सुरु भई कठिन संघर्ष, जोखिम र सामूहिक प्रयासबाट नेपालकै नमूना संस्थाको रूपमा स्थापित भएको हो। प्रारम्भिक चरणमा ८,४१३ घरधुरीको सर्भे भए पनि आवश्यक ५,४०० उपभोक्ता पुर्याउने चुनौतीका बीच केवल १,७६५ घरधुरीबाट मात्र सुरुवात गरिएको उनले स्मरण गरे।
आयोजना बचाउनका लागि तत्कालीन अवस्थामा झन्डै रु. २.५ करोड बराबरको आर्थिक जोखिम उठाउनुपरेको उल्लेख गर्दै उनले विभिन्न समाजसेवी, क्याम्पस र कार्यसमितिका सदस्यहरूको योगदानलाई ऐतिहासिक भनेका छन्। सोही जोखिम र सहयोगका कारण आयोजना जोगिएको र पछि सबै सापट रकम फिर्ता गरी संस्थाको खातामा करिब रु. १ करोड बचतसमेत राखिएको उनले जानकारी दिए।
उनले संस्थाले खानेपानी मात्र होइन, सरसफाइ क्षेत्रमा पनि उल्लेखनीय काम गरेको बताए। करिब ९०० शौचालय निर्माण गरी गरिब, मुक्तकमैया, एकल महिला तथा असहाय परिवारलाई सहयोग गरिएको र यसले टीकापुरलाई खुला दिसामुक्त अभियानमा अग्रसर बनाएको उल्लेख छ।


हाल संस्थासँग २६२ किलोमिटर पाइपलाइन, करिब ६,००० घरधुरीमा धारा जडान, १८,००० धारा क्षमतासहित २४ घण्टा पानी आपूर्ति गर्न सक्ने संरचना, तथा झन्डै रु. ९९ करोडको ढल तथा FSM परियोजना सम्पन्न भएको तथ्य पनि उनले प्रस्तुत गरे।
तर, यति ठूलो उपलब्धिका बीच कार्यसमितिभित्र देखिएको विवादप्रति उनले चिन्ता व्यक्त गरेका छन्। “सुशासन ओठे प्रतिवद्धतामा सीमित हुनु हुँदैन,” भन्दै उनले व्यवहार र कार्यशैलीमा इमानदारी आवश्यक रहेको बताए।
उनले वर्तमान कार्यसमितिलाई स्वार्थ त्यागेर एकताबद्ध हुन, टोल संयोजक तथा बौद्धिक वर्गलाई मध्यस्थता गर्न, र राजनीतिक दलहरूलाई साझा समाधानतर्फ अग्रसर हुन आग्रह गरेका छन्।
अन्त्यमा रावलले भने, “हामीले दुःख गरेर बनाएका संरचना विवादका लागि होइन, जनसेवाका लागि हुन्। संवाद, सहमति र सुशासन नै टीकापुरको भविष्य हो।”
































